NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बर्खास्तीपछि यसरी निस्किए सोनल

जनकपुरधाम । प्रदेश २ सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् । मन्त्री क्वाटर छाड्दै पूर्वमन्त्री सोनलले प्रदेशकै राजनीतिमा सक्रिय रहने बताएका छन् । कर्मचारी र शुभेच्छुकसँग आज बिहान भेटघाट गर्दै मन्त्री क्वाटर छाडेका उनले त्यस्तो बताएका छन् । पूर्वमन्त्री सोनलले कर्मचारी र शुभेच्छुकलाई प्रदेश २ को राजनीति गर्न पार्टीले जिम्मेवारी दिएकोले त्यसमै प्रतिबद्ध भएको बताए । ‘पार्टीले प्रदेशको जिम्मेवारी दिएको छ,’ सोनलले भने, ‘पार्टीले अर्को जिम्मेवारी निदएसम्म प्रदेशमै रहेर जनताका निम्ति काम गर्छु ।’ ‘त्यही ताजगीको साथ पार्टी र मधेसको जनताले दिएको जिम्मेवारीमा प्रतिबद्ध छु,’ सोनलले भने,‘अगामी दिनमा जे जिम्मेवारी मिल्छ, त्यसलाई सहर्ष स्वीकार गरी पूर्ण क्षमताका साथ प्रदेशका जनता र पार्टीका निम्ति काम गर्छु ।’ मन्त्री क्वाटर छाड्दै सोनलले कर्मचारीहरुलाई सवा तीन वर्षमा प्रदेशमा सिचाई, सडक र पिछडावर्गको उत्थानका निम्ति गरिएको प्रयत्नका निम्ति धन्यावाद दिदै अझ जोसका साथ काम गर्न आग्रह गरेका छन् । ‘सडक, सिचाई, पिछडावर्गको उत्थानको निम्ति किसानको खेतमा सिचाईको व्यवस्थापनको निम्ति गरिएको प्रयासलाई सफल बनाउनु होला,’ उनले भने, ‘मलाई यस अवधिमा सहयोग गर्नुभएकोमा धन्यवाद ।’ प्रदेश २ सरकार गठन भएको सवा ३ वर्षमा आफू सवा ३ दिन बिदामा नबसेर काम गरेको भन्दै सोनलले त्यही जोसका साथ अगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री सोनलले एउटा सुटकेस, ब्याग बोकेर पूरानो मोटरसाईकलमा चढेर मन्त्री क्वाटर छाडेका हुन् । उनी जनकपुरधाममै डेरा लिई बस्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टीको सरकार रहेको प्रदेश २ मा अध्यक्ष महन्थ ठाकुर खेमामा रहेका सोनलसँगै समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल पदमुक्त भएका छन् ।