NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रधानन्यायाधीश बिरामी परेपछि संवैधानिक इजलास स्थगित

काठठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ हुँदै आएको सर्वोच्च अदालतको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा बिरामी परेपछि सोमबारको इजलास स्थगित बनेको हो । प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए । उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएका छन् । प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन । सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ । इजलास नै नबस्ने भएपछि सोमबारका लागि सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी तोकेको छैन । सुनुवाइ सुरु भएदेखि नै इजलासमा विवाद हुँदै आएको छ । संवैधानिक इजलासमा राखिएका न्यायाधीशबारे विपक्षी गठबन्धनका अधिवक्ता र सरकार पक्षका अधिवक्ता दुवैको असहमति रहँदै आएको छ । आइतबार पेशीका क्रममा त सत्तापक्षका वकिल र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच चर्काचर्की नै भएको थियो । महान्यायाधिवक्ता रमेश बडालले पनि इजलासमा एकतर्फी न्याय सम्पादन हुनेमा शंका व्यक्त गरेका थिए ।