NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ओलीको घोषणाले विपक्षी गठबन्धनमा हलचल : शीर्ष नेता दौडधूपमा

काठमाडौं । आइतबार साँझ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको विज्ञप्तिका कारण विपक्षी गठबन्धनभित्र हलचल सुरु भएको छ । माधव नेपाल समूहले राखेको सर्त स्वीकार गर्ने र पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा ल्याउने घोषणा गरेलगत्तै विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलका लागि दौडधूपमा छन् । अहिले माधवकुमार नेपाल आन्तरिक दवावमा छन् । यसअघि पनि कुनै हालतमा पार्टी फुटाउन नहुने भन्दै आफ्नै समूहका नेताबाट आइरहेको दवाव अब ओलीको घोषणापछि झन् बढेको छ । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर गरेको रिट फिर्ता लिन अनुरोध गरेका छन् । यता नेपालले भने सत्ता जोगाउन ओलीको कुनै चाल हुनसक्ने बताएका छन् ।माधव नेपाल समूहले हस्ताक्षर फिर्ता लियो भने संसद् पुनःस्थापना भए पनि देउवा प्रधानमन्त्री बन्न सक्दैनन् । विपक्षहरुसँग बहुमत पनि पुग्ने आधार हुँदैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि प्रमुख लक्ष जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु हो । अहिले एमाले एकताका लागि गरिएको आह्वानले विपक्षी गठबन्धन संकटमा परेको छ । माधव कुमार नेपालले अब अगाडि कसरी बढ्ने भन्ने विषयमा आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । माधव पक्षका अधिकांश नेताले ओलीको घोषणालाई सकारात्मक रुपमा लिएका छन् । अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन केही बेरअघि प्रचण्ड र नेपालबीच कोटेश्वरमा छलफल भएको थियो । त्यसलगत्तै प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतवार राति पनि छलफल भएको थियो । नेपाल आफ्नै समूहभित्र पनि दबाबमा रहेका बेला प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ । अब माधव नेपालले हस्ताक्षर फिर्ता लिए भने आफूहरु कसरी अघि बढ्ने र नेपाललाई हस्ताक्षर फिर्ता लिनबाट कसरी रोक्ने भन्ने विषयमा प्रचण्ड र देउवाबीच छलफल हुने बताइएको छ ।