NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्यो

कैलाली । कैलालीका स्थानीय तहमा स्वाब संकलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको संख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताइन् । ‘शुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुपर्यो भनेर फोन आउँथ्यो, हाल त्यस्तो छैन’, चौधरीले भनिन्, – ‘हाल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पनि दुई/तीन दिनमै रिपोर्ट आउन थालेको छ, सायद चाप कम भएरै होला ।’ जोशीपुर जस्तै जानकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । ‘दुई साताअघिसम्म स्वाब संकलन शुरु गरेको समयमा स्वाब दिन आउनेको निकै भीड लाग्ने गरेको थियो’, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले भने, – ‘हाल परीक्षण गर्न आउनेको सङ्ख्या घटेको छ । शुरुका दिनमा त सयौँ नागरिक परीक्षणका लागि आएका थिए, लकडाउनका कारण नागरिक घरमै बस्दा सङ्क्रमण घटेको देखिन्छ, आजभोलि सातामा २० देखि ३० जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।’ कैलालीका अधिकांश पालिकाले सातामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने गरेका छन् । भजनी नगरपालिकाले पनि साताको दुई दिन सोमबार र बिहीबार स्वाब संकलन गर्ने गरेको छ । पहिले एकै दिनमा ८० देखि १०० व्यक्ति स्वाब दिन आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर बढीमा ३० जनासम्म मात्र आउने गरेका छन् । भजनीका स्वास्थ्य शाखा सहसंयोजक कैलाश चौधरीले कोरोना परीक्षण गरी पोजेटिभ देखिए गाउँ समाजले हेलाका दृष्टिले हेर्छ भन्ने नागरिकको बुझाइले पनि परीक्षण गर्न आउने घटेका हुन सक्ने बताए । ‘संक्रमितको संख्यासमेत घटेको छ । अर्कोतर्फ सामाजिक दुर्व्यवहार सहनु नपरोस् भनी मानिस परीक्षणसम्म आउन मान्दैनन्’, चौधरीले भने, – ‘लामो समय बन्द हुँदा यसले संक्रमण न्यूनीकरणमा समेत सघाएको छ ।’ टीकापुर नगरपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । शुरुमा हप्तामा २५० व्यक्तिसम्मको स्वाब संकलन गरिन्थ्यो । अहिले २० जनासम्म मात्र स्वाब दिन आउने गरेका छन् । उक्त नगरपालिकाले मंगलबारदेखि गाउँगाउँमा गएर शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बताए । जिल्लाका सबैजसो पालिकाले कोरोना परीक्षणका लागि स्थानीयस्तरमा स्वाब संकलन गर्ने र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउने व्यवस्था मिलाएका छन् । अस्पतालले सबै पालिकाको स्वाब परीक्षण गरेर नतिजा सम्बन्धित बिरामीको मोबाइलमा म्यासेज गर्ने व्यवस्था मिलाएको छ । साथै पालिकालेसमेत संक्रमितको तथ्याङ्क राख्ने व्यवस्था मिलाएका छन् । जसले संक्रमितको उपचार, उद्धार र राहतमा सहज हुने गरेको छ । कैलालीमा हाल एक हजार ७० जना सक्रिय संक्रमित रहेका छन् ।