NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे रहेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको सोमबार बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको हुनसक्ने अधिकारीले बताए । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ । चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीन/तीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक/एकजनाको मृत्यु भएको हो । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।