NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान सञ्चालन

पोखरा । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् । विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन् । अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान शुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिए। ‘हामीले जेठ १६ गतेदेखि अभियानमा शुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ’, – उनले भने । उनका अनुसार क्लबले राहत कोषमार्फत सङ्कलित रकमबाट शुरुमा रु २० हजारबाट सो अभियान शुरु गरेको हो । अहिले लायन्स क्लबका सदस्य एवम् गैह्रसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् । हालसम्म करीब रु चार लाखभन्दा बढीको राहत सामग्री वितरण भइसकेको उनले जानकारी दिए । बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने सो अभियानमा दैनिक १३० देखि माथि १६५ सम्म खाद्य सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिए । उनका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म पुनः सञ्चालन गरिने छ ।