NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

क्वाटर छोड्दा मोटरसाइकल चढेपछि चर्चा, मन्त्री हुँदा महँगो गाडीको सवारी

जनकपुरधाम । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनल आज बिहान समाजिक सञ्जालमा चर्चाको पात्र बन्न पुगे । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार राति मन्त्री परिषद् पुर्नगठन गरे । पुर्नगठन गर्दा जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरे । त्यही बर्खास्तीमा परे जितेन्द्र सोनल । प्रदेशकै प्रभावशाली नेतासमेत रहेका सोनल बर्खास्तीमा परेपछि बिहान मन्त्री क्वाटर छाड्ने क्रममा एउटा सुटकेश, एउटा ब्याग बोकेर एक सय सीसीको मोटरसाइकलमा सवार भएर बाहिरिएका थिए । मन्त्री क्वाटर छाड्नै लाग्दा कर्मचारीहरुसँग भेटघाट गरेका थिए । त्यहीबेला खिचिएको सुटकेश, ब्याग बोकेर मोटरसाईलकमा चढेको फोटो समाजिक संजालमा भाईरल बन्न पुग्यो । कतिपयले नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी), संघीय सरकारको परराष्ट्र मन्त्रीबाट विदा हुँदा प्रदीप ज्ञवाली जस्तै शालीनता देखाएको समाजिक सञ्जालमा पोष्ट गरेका थिए । कतिपयले उनको कमिसनको प्रश्न उठाएर आलोचना पनि गरेका थिए । बर्खास्तीपछि एकाबिहानै चर्चामा आएका पूर्व मन्त्री सोनल आफू र आफन्तलाई चढाउन सवारी साधन दुरुपयोग गरेको घटना पटक–पटक सार्वजनिक भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको गाडीको विवरण राख्ने इकाइमा महँगा गाडीहरु उनी प्रयोग गर्ने उल्लेख छ । प्र २–०२–००१ झ ००७४ नम्बरको ८० लाख वढीको लागतको हेक्सा जिप १, ज १४३५ नम्बरको ७० लाख वढीको स्टर्म सफारी १ प्रयोग गरेका थिए । त्यससँगै मुख्यमन्त्री कार्यालयमा हस्तान्तरण गरेको को १ झ ४९६ नम्बरको महेन्द्रा जिप, ज १ ब ७९५, ज १ ब ८०१ र ज ११ प ३३४८ नम्बरको मोटरसाईकल खरिद गरी प्रयोग गरेका थिए । स्टर्म सफारी उनी आफैं चढ्ने गरेका थिए भने महिन्द्रा जिप काठमाडौं र बाराको परवानीपुर गाउँपालिका ३ लिपनिमालमा रहेको घरमा नीजि प्रयोगमा थियो । घरमा रहेको गाडी उनकी पत्नी र पार्टीका कार्यकता चढ्ने गरेका थिए । यता मोटरसाइकलहरु उनको सचिवालयमा रहेका स्वकीय सचिवले प्रयोग गर्दै आएका थिए । कमिसनको आरोप ३ फागुन २०७४ मा भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा जिम्मेवारी पाएपछि सोनल विवादमा फस्दै आएका थिए । भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश २ को आठवटै जिल्लामा सडक, खानेपानी, भवन, तटबन्ध निर्माण लगायतका संरचना निर्माणमा बजेट दिँदा कमिसनमा १० देखि २० प्रतिशत माग गरेको आरोप समेत लागेका थिए । दुई वर्षअघि जनकपुरधाममा ‘आयोजित बहुआयामिक विकासका लागि जनचेतना अभिवृद्धि’ कार्यक्रममा उनी र ठेकेदारबीच आरोप प्रत्यारोप चलेको थियो । त्यस कार्यक्रममा ठेकेदारहरुले कमिसन नलिई योजना पास नहुने गरेको र त्यसमा संलग्नता रहेको दावी गरेका थिए ।