NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीले बोलाएका नेपालले देउवा निवासमा पुगेर के–के गरे सहमति ?

काठमाडौं । एमालेमा अध्यक्ष केपी ओलीले मिलेर जान प्रस्ताव गरेको भोलिपल्ट माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्काउने भन्दै देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई फिर्ता लिन आग्रह गर्दै एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । तर, संसद विघटनबारे कुनै आत्माआलोचना नगरेको भन्दै नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भन्दै ६ बुँदे प्रस्तावमा लिखित जवाफ फर्काउने निर्णय गरेको थियो । यस्तो निर्णयलगत्तै प्रचण्डसहित नेता नेपाल देउवासँग छलफल गर्न सोमबार अपराह्न बुढानिलकण्ठ पुगेका थिए । तीन जनाबीच समसामयिक राजनीति र प्रदेश २ र सुदुरपश्चिम सरकारमा मिलेर जाने सहमति भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘उहाँहरु तीन जनाबीच प्रदेश २ र सुदुरपश्चिम प्रदेश सरकारमा मिलेर जाने सहमति भएको छ’ भानुले देउवाले नेपालवाचसँग भने, ‘यसको लागि सम्बन्धित प्रदेशका संसदीय दलमार्फत् प्रक्रिया अघि बढाउने कुरा भएको छ ।’ यस अघि कर्णालीमा पनि कांग्रेस, माअाेवादी र एमालेकाे नेपाल पक्षबीच सहमति भएपछि मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले विश्वासकाे मत लिएका थिए । प्रदेश २ मा मुख्यमन्त्री लालबालु राउतले महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई आइतबार राति वर्खास्त गरेका थिए । चार जना मन्त्री वर्खास्तीमा परेपछि कांग्रेस र माओवादी मिलेर सरकारमा अघि बढ्न तयार भएका हुन् । यसमा माधव नेपाल पक्षले पनि सहमति दिने भएको हो ।त्यस्तै सुदुरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिंदैछन् । नेता नेपालले देउवा निवासमा अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन गरेको आग्रहलाई जालझेल भएको बताएको बुझिएको छ । ‘एमालेको आन्तरिक मामिलामा धेरै छलफल त भएन तर, माधव नेपालले हामी हाम्रो अडानमा प्रष्ट छौं हस्ताक्षर फिर्ता लिने कुरा नै भएको छैन भन्नुभएको छ ।’ बुढानिलकण्ठ स्रोतले भन्यो । नेपाल संसद विघटन फिर्ता लिनुपर्ने अडानमा छन् । एमालेमा ओलीको प्रस्ताव र प्रदेश सरकारहरु पनि संकटमा पर्दै गएपछि माओवादी अध्यक्ष प्रचण्डले सोमबार बिहान देउवा र नेपाललाई छुट्टाछुट्टै भेट गरेका थिए । सो भेट अपरान्ह तीन नेताबीच भेट भएको हो ।