NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जोखिमका बस्ती स्थानान्तरण गर्न सिफारिस

पर्वत । जिल्ला विपद् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका ६ वटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको छ । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिस गरिएको छ । त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिस गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । विपद् पूर्वतयारी स्वरूप बस्ती स्थानान्तरणको पहल भएको उनको भनाइ छ । गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् । तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारीस गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताए । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।