NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महन्थ पक्षका मन्त्री वर्खास्तीपछि प्रदेश २ मा कांग्रेस र माओवादी पनि यसरी जाँदैछन् सरकारमा

जनकपुरधाम । प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा सहभागी हुन दलहरुसँग छलफल गरिरहेको छ । महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारमा सहभागी भएपछि प्रदेशमा नयाँ समिकरण देखिएको छ । जसपाभित्र अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादववीचको टवराबका कारणले स्थायी देखिएको प्रदेश २ सरकारमा हलचल ल्याएको छ । यतिबेला केन्द्रकै राजनीतिका कारण प्रदेशमा असर देखिएको हो । जस अन्र्तगत तात्किालन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर ३ फागुन २०७४ बनेको जसपाको सरकारका मन्त्रीहरु बर्खास्त गर्ने घटनाक्रम सृजना भएको छ । मुख्यमन्त्री लालबाबु राउत संसदीय दलको नेतामा चयन भएसँगै आईतवार राती ठाकुर पक्षका चार मन्त्री बर्खास्त गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्बल झा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय राज्यमन्त्री सुरेश कुमार मण्डललाई कार्यसम्पादन कमजोर भएको आक्षेप लगाउँदै मुख्यमन्त्री राउतले बर्खास्त गरका छन् । ठाकुरपक्षलाई बर्खास्त गरेपछि प्रदेश २ को समिकरण फेरिएको छ । सक्तारुढ मुख्यमन्त्री राउतसँग ३५ जना साँसद रहेका छन् । जबकी तात्कालिन समाजवादी पार्टीको ३० र राष्ट्रिय जनता पार्टीका २५ सांसद छन् । ठाकुर पक्षका ५ साँसद मुख्यमन्त्री राउतपक्ष (उपेन्द्र यादवपक्ष) मा लागेका छन् । जसमा अध्यक्ष ठाकुर पक्षका दुई जना मन्त्रीहरु पनि रहेका छन् । समाजिक विकास मन्त्री नवल किशोर साह र उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री राम नरेश राय खेमा परिवर्तन गरीसकेका छन् । १ सय ७ सदस्यी प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ । ठाकुरपक्षलाई सरकारबाट बर्खास्त गरेपछि सक्ता समिकरण बलियो बनाउन अहिले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग छलफल गर्न जसपाबाट वार्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई जिम्मेवारी दिएको छ । मन्त्रीहरुले दुवै दलका नेता, सचेतकसँग छलफल जारी राखेको छ । काँग्रेसले तीन र माओवादीले दुई मन्त्रालय माग्यो सत्तारुढ पक्षका मन्त्री स्तरीय वार्ता टोलीले प्रदेश सरकारमा सहभागी हुन आज बिहान नेपाली कांग्रेस र माओवादी केन्द्रका संसदीय दलका नेतासँग छलफल गरेका छन् । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्रीमा दावी गरेका थिए । तर पछि तीन मन्त्रालय दिने विषयमा कुरा मिलेको नेपाली काग्रेसका प्रदेश साँसद नरेश कुमार यादवले बताए । १९ सांसद रहेको कांग्रेसले सभामुखमा पनि दावी गरेको उनले बताएका छन् । ‘कुन–कुन मन्त्रलाय लिने विषयमा वार्ता हुँदैछ,’ सांसद यादवले भने,‘यताको माग अनुसार उताबाट दिन तयार थिएन् । यद्यपी वार्ता सकारात्मक रुपमा अगाडी बढेको छ ।’ काँग्रेसबाट संसदीय दलका नेता राम सरोज यादव भौतिक पुर्वाधार मन्त्रालय सम्हाल्ने गरी पक्का भएको स्रोतको भनाई छ । यस्तै ८ सांसद रहेका माओवादीले दुई क्याविनेट र दुई राज्यमन्त्री माग गरेको छ । मन्त्रालयको विषयमा हामीहरु सहमत नजिक रहेको माओवादी केन्द्रका साँसद जगत प्रसाद यादवले बताए । ‘सरकारमा जाने कुरा भएको छ । वार्ता हुँदैछ । सम्मानजनक ठाउँ दिए भने जान्छौं,’ साँसद यादवले भने,‘वार्ता गर्न दलका नेता भरत साहको जिम्मेवारी दिएका छौं ।’ सत्ता समिकरण बलियो बनाउन जसपा उपेन्द्र पक्षले काँग्रेस र माओवादीसँग मन्त्रालय टुक्राएर भएपनि सहमति गर्ने र सरकारमा सहभागी गराउने गरी अगाडी वढेको छ ।