NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नीर्जीवन बीमा कम्पनीको ३९ प्रतिशत बजार हिस्सा मोटर बीमाकै, आकर्षित हुन सकेन लघु बीमा

काठमाडौं । नीर्जीवन बीमा कम्पनीको व्यवसाय सबैभन्दा बढी मोटर बीमाबाट भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा नीर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७२ करोड ६६ लाख बीमा शुल्क संकलन गर्दा मोटर बीमाबाट मात्रै एक अर्ब ७ करोड ३ लाख रूपैयाँ आर्जन गरेका छन् । जसको बजार हिस्सा ३९.७४ प्रतिशत रहेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक हेर्दा नीर्जीवन बीमा कम्पनीको व्यवसाय मोटर बीमाबाटै चलेको देखिन्छ । चालु आवको माघमा बागमती प्रदेशबाट मात्रै बीमा कम्पनीहरूले मोटर बीमामार्फत ५९ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट १३ करोड ६ लाख, प्रदेश १ बाट १० करोड ३१ लाख, गण्डकी प्रदेशबाट ९ करोड ४६ लाख, मधेस प्रदेशबाट ९ करोड ५८ लाख, सुदूरपश्चिम प्रदेशबाट ३ करोड ७७ लाख र कर्णाली प्रदेशबाट १ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

मोटर बीमापछि कम्पनीहरूले सम्पति बीमामार्फत बढी व्यवसाय गरेको देखिन्छ । माघको तथ्यांकअनुसार कम्पनीहरूले सम्पत्ति बीमाबापत ८९ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसको बजार हिस्सा ३२.७४ प्रतिशत छ ।

बागमती प्रदेशबाट मात्रै बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत ६३ करोड ६३ लाख बीमा शुल्क संकलन गरेका छन् । अन्य प्रदेशहरूमा लुम्बिनी प्रदेशबाट ६ करोड १४ लाख, प्रदेश एकबाट ७ करोड ८९ लाख, मधेस प्रदेशबाट ५ करोड ७१ लाख, गण्डकी प्रदेशबाट ३ करोड ६३ लाख, सुदूरपश्चिम प्रदेशबाट १ करोड ६९ करोड र कर्णाली प्रदेशबाट ५४ लाख बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै विविधको बजार हिस्सा १०.१४ प्रतिशत छ । कम्पनीहरूले माघमा मात्रै उक्त व्यवसायबाट २७ करोड ६५ लाख बीमा शुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले बागमती प्रदेशबाट २३ करोड ९८ लाख, लुम्बिनी प्रदेशबाट १ करोड २४ लाख, प्रदेश एकबाट ८५ लाख, मधेस प्रदेशबाट ५० लाख, गण्डकी प्रदेशबाट ७१ लाख, सुदूरपश्चिम प्रदेशबाट १७ लाख र कर्णाली प्रदेशबाट १७ लाख बीमा शुल्क संकलन गरेका छन् ।

सरकारले सबैभन्दा धेरै अनुदान दिएको बीमा क्षेत्र भएपनि व्यवसाय फस्टाएको देखिँदैन । जसको बजार हिस्सा ६.३७ प्रतिशत मात्रै छ । कम्पनीहरूले यसबापत १७ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कम्पनीहरूले यसमार्फत बागमती प्रदेशबाट ६ करोड ६० लाख, लुम्बिनी प्रदेशबाट २ करोड ७० लाख, मधेस प्रदेशबाट १ करोड ७३ लाख, प्रदेश १ बाट २ करोड ३७ लाख, गण्डकी प्रदेशबाट २ करोड ४४ लाख, कर्णाली प्रदेशबाट ८५ लाख, सुदूरपश्चिम प्रदेशबाट ६५ करोड बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै सामुद्रिक बीमाबापत कम्पनीहरूले १५ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसको बजार हिस्सा ५.७४ प्रतिशत छ ।

इन्जिनियरिङको बजार हिस्सा ३ प्रतिशत छ । १ महिनामा बीमा कम्पनीहरुले इन्जिनियरिङमार्फत ८ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

बीमा कम्पनीहरूले अलिकति पनि जोखिम बहन नगर्ने हवाई बीमा बापत ६ करोड ८९ लाख बीमा शुल्क संकलन गरेका छन् । हवाई बीमाको बजार हिस्सा माघमा २.५३ प्रतिशत छ ।

नीर्जीवन बीमा व्यवसायको सबैभन्दा न्यून व्यवसाय लघु बीमाको देखिन्छ । माघमा लघु बीमाको बजार हिस्सा ०.१५ प्रतिशत छ । उक्त व्यवसायमार्फत निर्जीवन बीमा कम्पनीहरूले ४१ लाख ११ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

कम्पनीहरूले लघु बीमामार्फत बागमती प्रदेशबाट १२ लाख प्रदेश एकबाट ६ लाख, गण्डकी प्रदेशबाट ११ लाख, लुम्बिनी प्रदेशबाट ४ लाख, सुदूरपश्चिम प्रदेशबाट २ लाख, मधेस प्रदेशबाट ९९ हजार, कर्णाली प्रदेशबाट ७६ हजार र बीमा शुल्क संकलन भएको छ ।

माघमा आर्जन बीमा शुल्क (प्रतिशतमा) :

मोटर ३९.२५
सम्पति ३२.७४
विविध १०.१४
कृषि ६.३७
सामुन्द्रिक ५.७४
इन्जिनियरिङ ३
हवाई २.५३
लघु ०.१५
जम्मा १०० ।