NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

बेचन झा पक्राउ परेलगत्तै नयाँ सरकार बनाउन किन सक्रिय भए देउवा ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य व्यक्ति मानिएका बेचन झा पक्राउ परेलगत्तै अब यसमा थप नेताहरु तानिने सम्भावना बढेको छ । उनै झाले सो प्रकरणमा त्यसबेला गृह मन्त्रालयभन्दा माथिल्लो निकायबाट फोन गर्न लगाएर सेटिङ मिलाएका थिए ।

तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले नै यस विषयमा लिखित बयानमै  बताइसकेका छन् । राजनीतिक सम्पर्कमा आएका झाको बयानबाट थप व्यक्तिको संलग्नता खुल्ने उनको बयान छ । स्रोतका अनुसार त्यतीबेला प्रधानमन्त्री निवास बालुवाटारबाट फोन गराएर झा सचिव पाण्डेलाई भेट्न गएका थिए। त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । आरजु देउवा हर्ताकर्ता थिइन् । आरजुमार्फत नै उनी गृह मन्त्रालय पुगेको अनुसन्धानबाट खुलिसकेको छ ।

झाले बयानमा सो वास्तविकता बताएमा यो प्रकरणमा आरजु समेत पक्राउ पर्ने सम्भावना छ । उनै झाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सचिव पाण्डे र तत्कालिन मन्त्री बालकृष्ण खाणसम्म सम्पर्क गराएका थिए । उनले समेत दुई करोडको चेक लिएको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

गृहमन्त्री रवि लामिछाने ठूला नेता जोडिएका अपराध खोजिरहेका छन् । यही अवस्थामा बेचन पक्राउ परेपछि यसमा जोडिएका थप व्यक्ति समेत आत्तिएको स्रोत बताउँछ ।

अर्काेतर्फ यही बेला कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रयासमा लागेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार मात्र आरजुलाई लिएर केपी ओली निवास बालकोट पुगेका थिए । जहाँ उनीहरुबीच दुई घन्टा लामो छलफल भएको थियो । छलफलमा देउवाले अ‍ोलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ ।
झा पक्राउ पर्नु र यसरी वर्तमान सरकार गिराएर कांग्रेस–एमालेको सरकार बनाउने प्रयास हुनुमा संयोग मात्र नभएको उच्च स्रोत बताउँछ ।
उता देउवाले एमालेसँग सहकार्यका विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पनि बोलाएका छन् ।