NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बालविवाह रोक्न अभिभावकको जागरुकता

डाेटी । जिल्लामा अझै कायम छाउपडी प्रथा र बालविवाह अन्त्यका लागि अभिभावक सक्रिय हुन थालेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका-८ लडागडाका स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट वञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका हुन् । वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् । डोटीलगायत आसपासका जिल्लामा पनि वर्षौं‌देखि बालविवाह र छाउपडीप्रथा कायमै रहेका कारण कैयौंको ज्यान गएकाले आफूहरु उक्त चलन अन्त्यका लागि सक्रिय भएको अभियानमा सहभागी अभिभावक भागादेवी लुहारले बताइन् । ‘जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौं, बालविवाह अन्त्य गरेरै छाड्छौं,’ उनले भनिन् । छोराछोरीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानुनी दायरामा ल्याउन सघाउने उनको भनाइ थियो । त्यस्तै, कानुनी व्यवस्थाले बिहेबारीमा ढिलाइ हुँदा किशोरीले अभिभावकको मञ्जुरीबिनै आफूखुशी २० वर्ष नपुग्दै भागीविवाह गर्ने समस्या बढ्दै गएको अर्का स्थानीयवासी गोपी साउद बताउँछन् । ‘अहिले विभिन्न संस्थाले काम गरेर हामीलाई थाहा भयो । हामी आफ्ना छोराछोरीलाई कम्तीमा पनि २० वर्षभन्दा पहिले विवाह गर्न दिँदैनौं, अरुलाई पनि हुन दिँदैनौं,’ उनले भने । जिल्लाका विभिन्न समुदाय तथा जातजातिमा छोरीको १७/१८ वर्ष पनि नपुग्दै विवाह गरिदिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख छ । बालविवाह लुकीछिपी प्रशस्तै हुने गरेको भए पनि गएको दुई आवमा जम्मा ४ वटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । ‘बालविवाह तथा छाउपडी प्रथा जताततै कायम छ भन्ने सुनिन्छ, तर मुद्दा कसैले हालेका छैनन् । गएको दुई वर्षमा जम्मा ४ वटा मात्रै मुद्दा परेका छन्, मुद्दा नै नपरे प्रहरीले कसरी थाहा पाउने ?,’ उनको प्रश्न थियो । यहाँका महिला आधारभूत तहसम्मको शिक्षा पनि नपाएका र सानैमा विवाह गरी आमा बनेका छन् । पछिल्लो समय जिल्लामा बालविवाहलाई कम गर्न अभिभावक शिक्षामा जोड दिइएको सामुदायिक विकास मञ्चका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए । उनका अनुसार जिल्लाका अधिकांश वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानलाई गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन् । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका विभिन्न टोलमा अभिभावकलाई बालविवाहविरुद्ध टोल शिक्षा दिएको उक्त संंस्थाका शिक्षा अधिकृत यज्ञराज बडूले बताए । ‘बालविवाह अन्त्यका लागि हामीले अभिभावकलाई टोल शिक्षा तथा बालविवाह गर्दा हुने असर बारेमा जानकारी दिन थालेका छौं, हामीले दिएको शिक्षाले केही हदसम्म भए पनि बालविवाह हट्न सहयोग गर्नेछ,’ उनले भने । उक्त वडा सबैभन्दा बढी बालविवाह भएको वडाका रूपमा चिनिन्छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । तर जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानुन व्यवसायी शङ्करदीप मडैले बताए । उनका अनुसार २० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने/गराउनेलाई ३ वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । (विमलबहादुर विष्ट/रासस)

ताजा अपडेट

नेपालवाच विशेष