NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नगरपालिकाको छात्रवृत्तिमा पढेका पाइलट गाउँकै सेवामा

काठमाडौं । रुकुमपश्चिमको आठविसकोट नगरपालिकाले ५०–५० लाखको लगानीमा दुईजना युवालाई पाइलट बनाएको छ । पछि कमाएर ऋण तिर्दै जाने सर्तमा नगरपालिकाले आठविसकोट–१० घरीखोलाका गोविन्द केसी र वडा नम्बर ५ स्थित गोताकोटका ललित भण्डारीलाई नगरपालिकाले पाइलट पढाउनका लागि फिलिपिन्स पठाएको थियो । दुईमध्येका एक पाइलट केसी यतिबेला नगरपालिकाको गुन तिर्दै विद्यालय निर्माणमा जुटेका छन् । गाउँकै विद्यालयमा कखरा सिकेका केसीले नगरपालिकाकै सहयोगमा पाइलट पढ्न पाए । यसैको गुणस्वरुप अहिले उनी आफ्नै गाउँमा विद्यालय स्थापना गर्न मद्दत गरिरहेका छन् । केसीसहित गाउँका तीनजना युवा (भिमराज केसी, यकराज केसी, महानराज ओली) मिलेर अभियान नै चलाएका छन्, ‘म बनाउँछु मेरो गाउँ’ । यही नामलाई उनीहरूले क्लबकै रुपमा दर्ता गराएका छन् । सोही क्लबको नाममा नगरपालिका र अन्य चिनजानका साथीभाईबाट ८० लाख रुपैयाँ संकलन गरेका छन् । नगरपालिकाले ३४ लाख दिएकाे थियाे भने बाँकी रकम अभियानमार्फत संकलन भएकाे थियाे । उक्त रकमले यतिबेला उनीरूले श्री जनविकास माध्यमिक विद्यालयको भवन निर्माण गरिरहेका हुन् । तिहारको छेकोमा गाउँ जाँदा विद्यालयको अवस्था दयनियँ देखेपछि आफूहरू यो अभियानमा जुटेको बताउँछन् केसी । ‘एउटै कक्षाभित्र जस्ता पाताले बार लगाएर दुईवटा कक्षा सञ्चालन हुन्थ्यो,’ केसीले विद्यालयको अवस्था चित्रण गरे । त्यसपछि विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक स्तरको उन्नतीका लागि काम थालेको उनले बताए । शैक्षिक स्तरको उन्नतीका लागि उनीहरूले बाहिरबाट त्यहाँ आएका शिक्षकहरूका लागि पनि आवासगृह बनाइरहेका छन् । यही फागुन १४ बाट सुरु भएको लगानीको काम यतिबेला लगभग सकिन लागेको छ । भवन निर्माणपछि विद्यार्थीहरू एउटै कोठाभित्र दुई फरक कक्षामा बसेर पढ्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन् । केसीका अनुसार ३६५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा यसअघि एउटै कक्षामा जस्तापाताले दुई भाग बनाएर पढाउने गरिन्थ्यो । अहिले उनीहरूको अगुवाईमा ३ वटा पक्की भवन बन्दै छ । फागुन १४ गतेबाट निर्माणको काम सुरु हुँदा विद्यार्थीहरूलाई १५ दिनको बिदा दिइएको थियो । उक्त बिदा सकिएपछि यतिबेला निर्माणको काम नसकिएसम्म अन्यत्रै घर भाडामा लिएर पढाउने काम सुरु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष