NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधारसहित बजेट व्यवस्थापनमा जोड

काठमाडौं । कोभिड–१९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रवद्र्धनका लागि चालिनुपर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भए पनि पर्यटन पुनरुत्थानका लािग बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए । उनले पहिले जस्तो अवस्था नभए पनि कोभिडले पर्यटन क्षेत्रलाई बढि प्रभावित गरेकोले यसको पुनरुत्थनाका लागि आफूले पहल गरेको बताए । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर, कोभिडको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताका साथ अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइए पनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए । उनले यो समयमा पूर्वाधार विकाससँगै मानव शंसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले अहिलेको परिस्थति पहिलेभन्दा फरक रहे पनि सरकार–निजी क्षेत्र मिलेर नै यसलाई अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिए । उनले आउने बजेटमा पर्यटन पुनरुत्थान र प्रवद्र्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यकक्ता भएको बताए । उनले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तारदेखि पर्यटनमैत्री नीति आवश्यक भएको बताए । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रवद्र्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै उनले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताए । यस्तै बोर्डका निर्वतमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनुपर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष