NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बीमा कम्पनीले दाबी भुक्तानीलाई सहज बनाउनुपर्छ : समिति अध्यक्ष

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताए । बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशनसमेत दिए । मिलेमतो हुने बीमितले समयभन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ । यस्तै रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उनले बताए । रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दासम्म बीमा क्षेत्रको विकास सम्भव नभएको पनि अध्यक्ष सिलवालले बताए । जतिसुकै नयाँ बीमा योजना ल्याए पनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने पनि बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको योजनामा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एक देखि ५ लाख रुपैयाँ सम्मको स्वास्थ्य उपचार जोखिम र एक देखि १० लाख रुपैयाँ सम्मको गम्भीर प्रकृतिका जोखिम एकैपटकमा बहन हुनेछ । यदि कुनै बीमितले ७ लाख रुपैयाँको दुर्घटन बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचार बीमा र एक लाख रुपैयाँसम्मको गम्भीर प्रकृतिका जोखिमको बीमा गर्न एक वर्षमा १ हजार ६ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरे पुग्ने इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले बीमा दाबी भुक्तानीको प्रक्रियालाई पनि सहजीकरण गरेको बताएको छ । कुनैपनि बीमितले आफू अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनुपर्नेछ । इन्स्योरेन्सले अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई दाबी गरेको एक हप्ताभित्र रकम भुक्तानी गरिसक्ने पनि जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष