NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कांग्रेसमा सभापति बन्न १० आकांक्षीको ताँती

काठमाडौं । राजनीतिक उतारचढाव र कोरोनाको बढ्दो संक्रमणकाबीच पनि कांग्रेसलाई १४ औं महाधिवेशनको रापतापले मज्जैसँग छोएको छ । नेपाली कांग्रेसको महाधिवेशन नियमित चार वर्षमा त भएन नै, थप गरिएको डेढ वर्षको अवधिसमेत आगामी १९ भदौमा सकिँदैछ । कांग्रेसले आगामी ७ देखि १० भदौसम्म महाधिवेशनको मिति निर्धारण गरेको छ । तर, तयारी निकै नै सुस्त छ । एक वर्ष थप लम्ब्याउन पाउने संविधानले दिएको समय पनि सकिने भएकाले कांग्रेस नेतृत्वलाई तोकिएको महाधिवेशन सार्ने कुनै सुविधा छैन । महाधिवेशनले वडादेखि केन्द्रीय तहसम्मको नेतृत्व नयाँ निर्वाचित गर्छ । १४ औं महाधिवेशनमा क्रियाशिल सदस्यता पाँच लाख बाट १० लाख पुर्याउने कांग्रेसको निर्णयले झन् बढी समस्या सिर्जना गरेको छ । क्रियाशिल सदस्यकै आधारमा महाधिवेशनमा वडादेखि केन्द्रसम्मका पदाधिकारी र सदस्य चुनिन्छन् । जसमध्ये केन्द्रमा सभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेशको नेतृत्व र जिल्ला, क्षेत्र, स्थानीय तहको नेतृत्वमा प्रतिस्पर्धीको चर्को लर्को लाग्छ । थपिएका सदस्यलाई आफ्नो पक्षमा तान्न नेताहरुबीच अस्वस्थ प्रयास भइरहेको छ । नेताहरुले आफू अनुकूल सदस्यताको फर्म बाँड्ने, समायोजनमा मनोमानी गर्दा कांग्रेसभित्र विवाद टुङ्ग्याउनै सकस परेको छ । त्यसैले सदस्यतमा वितरण र नवीकरणमा ढिलाई मात्रै भएको छैन । धेरै ठाउँमा नयाँ–नयाँ विवाद निम्तिएका छन् । महाधिवेशनको निर्धारित मिति अनुसार तल्लो तहको अधिवेशन सुरु हुन अब दुई महिनामात्रै बाँकी छ । समयको बढ्दो चापका बीच महाधिवेशनमा सभापतिको उम्मेदवार कुन–कुन नेता होलान् ? उत्तिकै चासोपूर्वक हेरिँदैछ । १४ औं महाधिवेशनमा सभापति बन्न आकांक्षीको ताँती नै देखिन्छ । अहिलेसम्म झण्डै १० जना नेताले सभापतिको लागि दाबेदारी देखाएका छन् । जसमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महतदेखि कल्याण गुरुङसम्मका नेता छन् । सभापतिका १० जना आंकाक्षीमध्ये ८ जना पूर्व संस्थापनपक्षीय छन् । वर्तमान सभापति देउवा र निधि मात्रै वर्तमान संस्थापन पक्षका हुन् । देउवा खेमामा उनका प्रतिस्पर्धी निधि मात्र भएकाले व्यवस्थापन गर्न सहज छ । तर, पूर्व संस्थापनलाई भने ८ जनाबाट सभापतिको एउटा उम्मेदवार चयन गर्न निक्कै पापड पेल्नु पर्ने देखिन्छ । पूर्व संस्थापन पक्षका नेता डा. रामशरण महत आकांक्षी धेरै भए पनि एक जना मात्रै सभापतिको लागि अघि बढ्नुपर्ने मत राख्छन् । ‘कांग्रेस गुटबन्दीले थिलथिलो भइसक्यो । यस्तो बेला पनि धेरैले उम्मेदवारी दाबी गर्दा झन् कमजोर भइन्छ । आन्तरिक राजनीतिमा गुटबन्दी र विवाद धेरै गर्नुहुन्न’ महतले नेपालवाचसँग भने, ‘म आफैं पनि सभापतिको दाबेदार हुँ तर, सहमतिमा उम्मेदवार चयन गरेर अघि बढ्नुपर्छ । प्रतिस्पर्धा नै हुने अवस्थामा दुई जनामात्रै उत्रिनुपर्छ ।’ यस्तो छ सभापतिका आकांक्षीको पृष्ठभूमि १) शेरबहादुर देउवा : दोस्रोपटक सभापतिको तीव्र आकांक्षामादेउवा कांग्रेसमा बहालवाला सभापति हुन् । २०५८ सालमा पार्टी फुटाएर उनी सभापति भएका थिए । तर, एकीकृत पार्टीको सभापति बन्न उनले लामै प्रतिक्षा गर्नुपर्‍यो । सुशील कोइरालाको निधनपछि २०७२ मा काठमाडौंमा भएको १३ औं महाधिवेशनबाट देउवा सभापतिमा चुनिएका हुन् ।चारपटक प्रधानमन्त्री भइसकेका देउवालाई फेरि एकपटक ठूलो र प्रजातान्त्रिक पार्टीको कमाण्ड चलाउने अभिलाषा छ । शक्ति सन्तुलनमा खेल्न माहिर देउवाले १४ औं महाविधेशन पनि आफ्नो पक्षमा पर्ने हिसाबकिताब निकालिसकेका छन् । उनले विजय गच्छदारको पार्टीसँग एकता मात्र गरेका छैनन्, राप्रकाका पूर्व नेता सुनिलबहादुर थापालाई कांग्रेस भित्र्याएका छन् । क्रियाशील सदस्यता वितरणदेखि एकता भएर आएकासँगको समायोजनमा देउवाले आफ्नो अनुकूल सदस्यता वितरण गरेको आरोप पार्टीभित्रै लागिरहेको छ । सभापतिमा फेरि लड्ने देउवाको तयारी रहेको उनी निकटका नेता मीन विश्वकर्मा बताउँछन् । ‘देउवाको अनुमति, सहमतिबिना उठ्ने उम्मेदवारले सभापतिमा परिणाम हासिल गर्न सक्दैनन् । हाम्रो टिमबाट दाबेदारी गर्ने नेताहरुले देउवाले मलाई सभापतिको उम्मेदवार भनिीदए हुन्थ्यो भन्ने दबाब दिन मात्रै हो’ विश्वकर्माले नेपालवाचसँग भने, ‘देउवाले १४ औं महाधिवेशनपछि जिते पनि छोडनु हुनहुन्छ । हारे पनि छोड्नुहुन्छ । गिरिजासँग पटकपटक भिडेर देउवाजी सफल हुनुभएको हो । अर्कोपटक कन्फर्म हुने नेताले अहिले दाबेदारी गर्नु स्वभाविक हो ।’ सभापतिको अनुमतिविना कोही पनि देउवा टिमबाट सभापतिमा नउठ्ने दाबी विश्वकर्माको छ । संकटमा देशका समस्या समाधान गर्ने र जात, धर्म, भूगोलभन्दा माथि उठ्ने नेता भएकोले पनि देउवा नै १४ औं महाधिवेशनका लागि पहिलो रोजाई हुने विश्वकर्माको जिकिर छ । २) रामचन्द्र पौडेल : अहिलेसम्म ठूला पद नपाएकोले एकपटक सभापति हुने आंकाक्षापूर्व संस्थापनमा पौडेल सबैभन्दा सिनियर नेता हुन् । पौडेलले गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्मलाई सहयोग गर्दै आएका थिए । २०४७ सालपछि पौडेल प्रायः सत्ता बाहिर छैनन् । सभामुख, उपप्रधानमन्त्री, मन्त्री, सांसद जस्ता पद पौडेलले प्राप्त गरिसकेका छन् । पार्टी सभापति र प्रधानमन्त्री हुने सौभाग्य भने उनले पाएका छैनन् । १३ औं महाधिवेशनमा सिटौला पक्षलाई आफ्नो पक्षमा पार्न नसकेपछि मुखैमा आएको पौडेलको सभापति बन्ने चाहनाले मुर्त रुप पाउन सकेको थिएन । पूर्व संस्थापनबाट सिटौला सभापतिको उम्मेदवार बनिंदिंदा पौडेल देउवासँग पराजित हुन पुगेका थिए । दोस्रो चरणको निर्वाचनमा समेत सिटौला पक्षको मत देउवालाई बढी गएको थियो । महाधिवेशनको मुखमा सुशील कोइरालाको निधन भएपछि पौडेलले सिटौलालाई विश्वासमा लिन नसक्दा उनले चुनाव हार्नुपरेको चर्चा कांग्रेसमा हुनेगर्छ । लामो समय राजनीति गर्दा ठूलो पद प्राप्त गर्न नसक्दाको छटपटी भने पौडेलमा देखिने नेताहरु बताउँछन् । त्यसैले उनले एकपटक कांग्रेसको सभापति बन्ने विषयलाई प्रतिष्ठा नै बनाएका छन् । अरु नेताले जस्तो खुलेर सभापतिमा उम्मेदवारी दिनेबारे पौडेलले बताइसकेका छैनन् । तर, अरु सबै नेता ‘जुनिएर’ रहेकोले सबैले आफूलाई सभापति बनाउन सहयोग गर्नुपर्ने मान्यतामा पौडेल छन् । तर, अघिल्लोपटक पराजित भएपछि फेरि उठ्दा देउवालाई उनले हराउन नसक्ने हिसाब पूर्व संस्थापनको कोइराला पक्षले निकालेको छ । यसकारण उनलाई सभापतिको उम्मेदवार बन्न दिनेमा यसपटक कोइराला परिवार मुख्य बाधक बन्ने देखिन्छ । गिरिजा र सुशीललाई नजिकबाट साथ दिएकोले आफूहरु पनि कोइराला परिवार नै भएको पौडेलले सार्वजनिक रुपमैं बताइसकेका छन् । ३) प्रकाशमान सिंह : सभापतिका लागि लिगेसी, क्षमता र सक्रियता सबै पुग्ने विश्वासमहाधिवेशनमा सभापतिका आकांक्षीमा अगाडि आउने नाममा पूर्व संस्थापनका सिंह पनि पर्छन् । गणेशमान सिंहका छोरा हुनुले सभापतिमा दाबेदारी गर्न उनको ‘लिगेसी’ पर्याप्त हुने उनी निकट नेताहरु बताउँछन् । वरिष्ठता, सक्रियता, निरन्तरताको हिसाबले आफू नै सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने दाबी सिंहको छ । पौडेलले सभापतिमा देउवासँग भिडिसकेको भन्दै अब पौडेलपछिको ‘सिनियर’ नेताको रुपमा आफू स्वतः सभापतिको दाबेदार रहेको उनको बुझाइ छ । सुशील कोइराला सभापति हुँदा सिंह निर्वाचित महामन्त्री थिए । सभापतिको उम्मेदवार बन्न सिंहले देशव्यापी दौडधूपलाई तीव्र बनाउँदै आएका छन् । ४) विमलेन्द्र निधि : ‘उपसभापति भइसकें अब सभापतिकै लागि दाबेदारी गर्ने हो’निधि सभापति देउवाबाट मनोनित उपसभापति हुन् । उपसभापति स्वतः सभापतिको दाबेदार हुने भन्दै उनले १४ औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने बताइसकेका छन् । सामान्यतया देउवा पक्षमा ‘चेन अफ कमाण्ड’ मा रहेको बताइन्छ । पूर्व संस्थापन चारतिर फर्किरहेका बेला देउवा पक्ष पनि एकमत रहँदै आएको छ । तर, निधिले यसपटक आँट गरेरै सभापतिमा आफू अघि बढ्ने सन्देश देउवालाई पुर्‍याइसकेका छन् । यतिमात्र होइन, पूर्व संस्थापनका नेताहरुलाईसमेत फोन गरेर निधिले आफू सभापतिको दाबेदार बन्ने बताइ रहेका छन् । देउवा पक्षमा विद्रोह गरेर भन्दा मनाएर नै आफू सभापतिको उम्मेदवार बन्ने सोच निधिमा देखिन्छ । सभापति देउवाले नै आफूलाई अघि सार्नुपर्ने मत निधिको छ । तर, धेरैले निधिको यो प्रयासलाई १५ औं महाधिवेशनमा देउवा पक्षबाट सभापतिको एकमात्र उम्मेदवार बन्ने ‘बार्गेनिङ’ को रुपमा बुझेका छन् । ५) कृष्णप्रसाद सिटौला : परम्परागत शैलीमा अब तेस्रो विचार समूहवैचारिक रुपले प्रष्ट र सांगठनिक रुपले सबल पार्टी बनाउन आफू सभापतिमा अघि सर्ने मत सिटौलाको छ । १३ औं महाधिवेशनमा नै सभापतिमा उम्मेदवार दिएकोले अब अरु पदमा चुनाव नलड्ने सोचमा सिटौला छन् । अहिलेसम्म युवा नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, भीमसेनदास प्रधान जस्ता नेताहरुको साथ सिटौलालाई छ । आफूहरुको छुट्टै विचार समूहले कांग्रेसलाई युवा र जनताको माझमा स्थापित गराउन सक्ने दाबी सिटौलाको छ । सम्भावित समीकरणमा कतै नखुली सभापतिमा उम्मेदवार दिएर पनि सिटौलाले नजित्न सक्छन् । तर, आफ्नो समूहलाई एक ठाउँमा राख्न सके फेरि पनि जितहारमा पहिले जस्तै निर्णायक पनि हुन सक्छन् । यद्यपि यसपटक सिटौलाले गगन र प्रदीपहरुलाई आफ्नै समूहमा राखिराख्न नसक्ने चर्चा पनि छ । ६) डा. शशांक कोइराला : ‘देउवालाई हराउने मैले भन्दा अरुले सक्दैन’१३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् शशांक । कोइराला परिवार यसमा पनि बिपी कोइरालाका कान्छो छोरो हुनुको सबैभन्दा ठूलो फाइदा शशांकलाई छ । नेपालको सत्ता र राजनीतिमा लामो समय रहेको कोइराला विरासत नै आफ्नो सबैभन्दा ठूलो राजनीतिक हतियार रहेको बुझाई शशांकको छ । यसैले सभापतिमा उठ्दा आफ्नो जित सुनिश्चित हुने दाबी उनले आफू निकटका नेताहरुलाई मात्र होइन सार्वजनिक टिप्पणी नै गर्ने गरेका छन् । अब पौडेल, सिंह वा अरु पूर्व संस्थापनका नेता उभिएर देउवालाई हराउन नसक्ने भन्दै आफू एकपटक सभापतिमा अघि बढ्नैपर्ने बाध्यात्मक अवस्था आएको उनले बताइसकेका छन् । ‘हामी सबै मिलेर एक जना उठ्नुपर्छ । त्यसका लागि हामीबीच वार्ता हुनुपर्छ । वार्ता गरेपछि हामी एक ठाउँमा पुग्न सक्छौं’ शशांकले सभापतिमा आफूले मात्रै देउवालाई हराउने सक्ने दाबी गर्दै केही समय अघि भनेका थिए, ‘व्यक्तिगत हिसाबले शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु कसैले पनि सक्दैन । मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति कांग्रेसमा कोही छैन ।’ ७) डा. शेखर कोइराला : कमजोर बनेको पार्टीलाई उठाउने दाबी१३ औं महाधिवेशनपछि सभापतिमा खुल्ला र प्रष्ट दाबेदारी कसैले गरेका छन् भने ती डा. शेखर कोइराला नै हुन् । केशव–नोना पुत्र शेखर कोइराला परिवारकै हुन् । तर, उनी विरासतलाई शक्ति ठान्दैनन् । राजनीतिक समझ भएका परिपक्व, सक्रिय र क्षमताशील नेताको रुपमा शेखरलाई लिइन्छ । शशांकलाई बिपीको छोरा हुनुको फाइदा भए पनि शेखर क्षमतावान, तार्किक र सक्रिय छन् । पछिल्ला वर्ष पार्टी कमजोर बनेकोले युवा र जनताबीच लोकप्रिय कांग्रेस बनाउन आफू लागिपर्ने भन्दै सभापतिमा दाबेदारी दिंदै आएका छन् । झण्डै १० जना आकांक्षीमा सबैभन्दा खुलेर दाबेदारी गर्नेमा शेखर पहिलो नम्बरमा छन् । १३ औं महाधिवेशन लगत्तैदेखि सभापतिकै लागि भनेर जिल्ला दौडाहा गर्नेमा उनी सबैभन्दा अगाडि छन् । काठमाडौंमा स्थायी बसोबास भए पनि उनको बढी दौडाहा जिल्ला–जिल्लामा हुने गर्छ । शेखरले २८ चैतमा पोखरामा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले गरेको विचार गोष्ठीमा सभापतिबाहेक अरु कुनै पदमा उम्मेदवारी नदिने प्रष्टै बताएका छन् । कोइरालाले भनेका छन्– ‘म १४ औं महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा उम्मेदवारी दिन्नँ । म कसैमाथि अन्याय हुन दिन्नँ । कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु ।’ ८) सुजाता कोइराला : ‘गिरिजाको छोरी मेरो योग्यता किन नपुग्ने ?’आफ्नो स्वास्थ्यका कारण सभापतिमा दाबेदारी नरहने बताउँदै आएकी सुजाताले पछिल्लो समय भने आफूलाई पनि दौडमा उभ्याएकी छन् । शशांक र शेखर दुवैले सभापतिमा आकांक्षा देखाएपछि सुजाताले पनि आफूलाई चर्चामा उभ्याएकी हुन् । धेरैले शशांक र शेखरले सभापतिमा दाबेदारी गरेपछि उनीहरुलाई मिलाउन उनले पनि उम्मेदवारी दिने चर्चा चलाएको रुपमा बुझेका छन् । सभापतिमा आकांक्षा राखे पनि शशांक र शेखरले जति दबाब भने बढाएकी छैनन् । सभापतिका लागि आफू पनि उत्तिकै योग्य रहेको सन्देश उनको छ । कोइराला परिवारबाटै अबको कांग्रेस नेतृत्व हुनुपर्छ भनेर पनि उनले दबाब बढाएको हुन सक्छ । ९) डा. रामशरण महत : जुनियर पदाधिकारी भइसकेकोले सभापति उठ्न दबाबउमेर, राजनीतिक निरन्तरता र क्षमताका आधारमा महतले पनि यसपटक सभापतिमा आफ्नो दाबी रहेको बताएका छन् । आफूभन्दा जुनियर कैयन् नेता पदाधिकारी बनिसकेको भन्दै आफूलाई सभापतिमा उठ्न कार्यकर्ताबाट दबाब आएको उनी बताउँछन् । सभापतिमा दाबेदारी हुँदाहुँदै पनि उनी सकेसम्म सहमतिमा अघि बढ्नुपर्ने मत राख्छन् । ‘उमेर निरन्तरता र क्षमताको हिसाबले मलाई पनि सभापतिमा उठ्न कार्यकर्ताको ठूलो दबाब छ’ महतले नेपालवाचसँग भने, ‘मभन्दा जुनियर नेताहरु उपसभापति र महामन्त्री भइसके । त्यसैले सभापतिमै उठ्न कार्यकर्ताले आग्रह गरिरहेका छन् ।’ १०) कल्याण गुरुङ : ‘युवा पुस्तामा आकर्षण बढाउन मेरो उम्मेदवारी’कांग्रेसमा कुनै समय नेपाल विद्यार्थी संघ प्रभावशाली नेता उत्पादनको नर्सरी थियो । अहिलेका नेताहरु देउवा, निधि नेविसंघबाटै उदाएका हुन् । युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङ, नैनसिंह महर पनि नेविसंघकै उत्पादन हुन् । नेविसंघबाट उदाएका पछिल्लो पुस्ताका युवा नेताहरु अहिलेसम्म कांग्रेसमा पदाधिकारी बन्न सकेका छैनन् । १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा पराजित हुन पुगे । यसपटक कांग्रेसमा युवा नेताहरुले पदाधिकारीमा खुलेर दाबेदारी गरिरहेका छैनन् । तर, नेविसंघको अध्यक्ष भइसकेकका कल्याण गुरुङ भने यसपटक सभापतिका लागि दाबेदारी दिने बताउँदै आएका छन् । अरु नेताहरुले खुलेर उम्मेदवारीबारे चर्चा नगर्दा गुरुङले भने कुनै पनि हालतमा सभापतिमा आफ्नो उम्मेदवारी रहने बताउने गरेका छन् । ‘महाधिवेशनको नतिजा के हुन्छ भनेर उम्मेदवार बन्ने होइन’ गुरुङ भन्छन्, ‘देशभरका कार्यकर्ताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । युवाहरुलाई कांग्रेसप्रति आकर्षण बढाउनुपर्ने छ । त्यसैले मैंले उम्मेदवारी दिन लागेको हुँ ।’

ताजा अपडेट

नेपालवाच विशेष