NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले देश–विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका लागि कामना गरेका छन् । ‘विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौं । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौं,’ उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपति पुनले महामारीकै कारण लाखौंलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख गरेका छन् । ‘बन्दाबन्दीबीच घरभित्रै रहेर २०७७ लाई स्वागत गर्दैगर्दा हाम्रो आशा र विश्वास थियो– २०७८ लाई हर्षोल्लासका साथ स्वागत गर्नेछौं । हाम्रो अपेक्षाविपरीत २०७८ लाई स्वागत गर्दै गर्दा देशमा कोरोना भाइरसको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ,’ उपराष्ट्रपतिले सन्देशमा भनेका छन् । जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको स्पष्ट पार्दै उनले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउनु हुन आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले कोरोना भाइरसको पहिलो लहरलाई जसरी नियन्त्रण गर्न सफल भयौ, दोस्रो लहरलाई पनि अवश्य नियन्त्रण गर्ने उल्लेख गर्दै भनेका छन्, ‘नयाँ वर्ष शुभारम्भको अवसरले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि सबै तहका सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सम्पूर्ण नेपालीलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

ताजा अपडेट

नेपालवाच विशेष