NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल चौडा गरिने

काठमाडौं । पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ । झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो । हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ । पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । निर्माण भइरहेकामध्ये सबैभन्दा लामो पुल सिद्धिदोभानको पुल रहेको छ । त्यसको लम्बाइ ६५ मिटर छ । यो आवमा सेतीदोभान, खहरे खोला, जलबिरेलगायत पुल सकिने देखिएको आयोजनाले जनाएको छ । सो खण्डमा सडकको कालोपत्र गत वर्ष सम्पन्न भएको थियो । सो खण्ड आयोजनाले गत वर्ष भरतपुर डिभिजनलाई हस्तान्तरण गरेको थियो । यी पुलको काम दुई वटा ठेक्कामा भइरहेको प्रमुख रिमालले जानकारी दिए । तीन वर्ष पहिले पुल निर्माण सुरु भएको थियो । उनले भने, ‘सबै पुल अबको दुई वर्षमा सकिने गरी काम भइरहेको छ ।’ मुग्लिनबाट नारायणगढतर्फ लाग्दा केही अगाडि तीन पुल निर्माण गर्नुपर्ने भए पनि कठीन भूगोलका कारण निर्माण गर्न अप्ठेरो भएको प्रमुख रिमालले बताए । मुग्लिनबाट अगाडि चार पाँच किमी दूरीमा रहेका तुइन खोला पुल, किसिनजी खोला पुललगायत स्थानमा पुल निर्माण गर्दा असजिलो भएको उनको भनाइ छ । भैगोलिक बनावट अप्ठेरो भएकाले अहिलेसम्म डिजाइन हुन नसकेको बताइएको छ । यो स्थानमा सवारीसाधन रोक्न पनि नमिल्ने र भित्तामा पहिरो र ढुंगा काट्नुपर्ने भएकाले कठिन हुने उनले बताए । ‘छेउतिर नदी र भित्तामा चट्टान नै चट्टान भएकाले काम गर्न कठिन छ,’ उनले भने । सबै पुलहरूको निर्माण कम्पनी आफैले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ट) मार्फत निर्माण अघि बढाइएको हो । अरु सबैको डिजाइन सकिएर निर्माण भइरहेको र कतिको सम्पन्न हुने चरणमा पुगे पनि कठिन भुभाग भएका स्थानमा निर्माण व्यवसायीले डिजाइन फाइनल गर्न सकेका छैनन् । भुभागकै कारण नारायणगढतर्फ पुल निर्माण गर्न गाह्रो नभएको तर मुग्लिनतिरको कठिन भएको प्रमुख रिमालले बताए । उनका अनुसार अहिले नौ पुलमा काम भइरहेको छ । अहिले काम भइरहेका र डिजाइनमा रहेका सबै पुल नै दुई वर्षमा सम्पन्न गरिने उनले बताए । निर्माण भइरहेका पुलमा निर्माण कम्पनीले नियमित काम गरिरहेको छ । ठेक्का सम्झौतामा ३० महिनाको अवधि थियो । ‘निर्माण भइरहेका कुनै पनि ठाउँमा व्यवसायीले ढिलाइ गरेको छैन र अरु विवाद पनि छैन,’ उनले भने । फाइल तस्बिर

ताजा अपडेट

नेपालवाच विशेष