NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन्। ‘सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु,’ नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देशमार्फत उनले भनेका छन् । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिवद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताएका छन् । उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन संघीय संसद्को नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्देशमा उनले भनेका छन्, ‘हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक संट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौं ।’ संकट अझै टरेको छैन भन्दै सभामुखले हामीले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध संघर्ष जारी रहेको स्पष्ट पारेका छन् । उनले सम्भावित विपद् जोखिम न्युनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । सभामुखले संविधान सभामार्फत नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा रहेको र संविधानको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम बाँकी नै छन् भनेका छन् । उनले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरूभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने छ भन्ने आशा व्यक्त गरेका छन् । सभामुखले अनुशासित भएर कोभिड–१९ लाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष